काठमाडौँ– हिमालय एअरलाइन्सले सामाजिक उत्तरदायित्व (सीएसआर) पहललाई अझ प्रगाढ बनाएको छ। हिमालय एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलमार्फत अनाथ तथा विपन्न बालबालिकालाई उत्थानका लागि प्रयास नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने घोषणा जनाएको छ।
हिमालय एयरलाइन्सले शनिबार प्रयास नेपालसँगको संस्थागत सामाजिक उत्तरदायित्वको सम्बन्धलाई थप प्रगाढ बनाउने निर्णय गरेको हो। उक्त निर्णयअनुसार नयाँ शैक्षिक सत्र २०७६ मा प्रयास नेपालमा रहेका बालबालिकाका निम्ति शैक्षिक तथा खाजाका सामाग्रीहरु उपलब्ध गरेको जनाएको छ।
प्रयास नेपालले हाल ३२ जना अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ। जसमध्ये दुई जना अझ विशेष आवश्यकताका बालबालिका रहेका छन्। केही वर्षदेखि यी बालबालिकाहरुले शैक्षिक क्षमता तथा नाचगान, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा आफूलाई उत्कृष्ट साबित गर्दै आएका छन्।
बालुवाटार स्थित आफ्नै प्रागंणमा विद्यार्थीले गरेको मनोरञ्जनात्मक प्रदर्शनलाई हिमालय एअरलाइन्सका उप–महाप्रबन्धक सुन चेङ्ग, एयरका प्रमुख उज्ज्वलादली, ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख तथा अन्य अधिकारीहरुले स्वागत गरेका थिए।