काठमाडौं। सरकारले सर्वोच्च अदालतको पूर्ण पाठ आएलगत्तै एनसेल प्रालि विक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ। ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको हो।
सर्वोच्चले सरकारलाई तीन महिनाभित्र कर निर्धारण गरी उठाउन आदेश दिएको थियो। सरकारले निर्धारण गरेको उक्त करमध्ये एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनुपर्ने हुन्छ।
टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत शेयर विक्री गरेको थियो। त्यसको कर तिर्नै नपर्ने भन्दै एनसेलले दाबी गरिरहेको थियो। त्यसपछि मुद्दा अदालतमा प्रवेश गरेपछि सर्वोच्चका प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशको पूर्ण इजलासले एनसेल र एक्जियटाले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो।
सोही फैसलाका आधारमा सरकारले कर निर्धारण गरेको हो। एनसेलले यसअघि २०७३ बैशाख २६ र २०७४ जेठ २ मा गरी २१ अर्ब ५४ करवड ८० लाख ५५ हजार ९ सय रुपैयाँ कर र २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८५१ रुपैयाँ विलम्ब शुल्क बुझाएको छ।
कार्यालयले मंगलबार विगतमा तिरिसकेको करलाई मिलान गरी नयाँ कर निर्धारण गरेको हो। कर निर्धारणको पत्र एनसेल प्रालिले बुझिसकेको ठूला करदाता कार्यालयको दाबी छ।