काठमाडौँ– नेपालमा व्यापार प्रवर्द्धनका लागि ताइवानका व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएकाे छ। मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको जानकारी दिइएको हो।
अन्तरक्रियामा भाग लिन इच्छुक नेपाली व्यापारी तथा खरीदकर्तालाई आह्वान गरिएको छ। उक्त कार्यक्रमले नेपाली व्यवसायीलाई ताइवानी उत्पादक तथा आपूर्तिकर्तासँग आफ्नो व्यापार विस्तार गर्ने उपयुक्त अवसर हुनसक्ने विश्वास आयोजकले लिएको छ।
ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ता सम्मिलित प्रतिनिधिमण्डलले यही वैशाख ५ गते नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापार विस्तारको सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।
ब्यूरो अफ फोरेन ट्रेड’ को प्रयोजनमा ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलले भ्रमण तथा अन्तरक्रियाको प्रयोजन गर्ने भएका छन्।
ताइवानी प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेसिन, खाद्यपदार्थ तथा जुस, स्टिलपाता तथा कोइला, एलइडी बत्ती तथा सङ्ख्यात्मक डिस्प्ले, सिसीटिभी क्यामरा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका विषयमा छलफल गरिने जनाइएको छ।