काठमाडौं । रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश सिंहले आगामी राजनीतिक अभियानलाई मधेशका विकास र पूर्वाधारका मुद्दासँग जोड्दै छठपछि मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्ने घोषणा गरेका छन्।
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सिंहले उक्त पैदल यात्राका क्रममा मधेशका विभिन्न विकास तथा पूर्वाधारका विषय उठाउने र आवश्यक परियोजना अघि बढाउन पहल गर्ने बताएका हुन्। सिंहले आगामी स्थानीय तथा विधायक निर्वाचनमा भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई टिकट नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। अन्य दलबाट निर्वाचित भएर भ्रष्टाचार गरेको आरोप लागेका व्यक्तिलाई समेत आफ्नो पार्टीबाट उम्मेदवार नबनाउने उनको भनाइ छ। पत्रकार सम्मेलनमा सिंहले आफ्नो आगामी राजनीतिक अभियान तथा मधेशका विभिन्न मुद्दाबारे धारणा राखेका थिए।