काठमाडौं । म्यान्माको सेनाले दुई दिनको अवधिमा विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा बालबालिकासहित ७० जनाभन्दा बढीको ज्यान गएको छ।
विपक्षी समूह, उद्धारकर्मी र सञ्चारमाध्यमले आक्रमणमा ७० भन्दा बढी घाइते भएको पनि जनाएका छन्।नोभेम्बर २८ मा शान राज्यको पेखोन क्षेत्रमा विवाह समारोहको तयारी भइरहेका बेला सैनिक विमानले बम खसालेको थियो। करेन्नी राज्यको अन्तरिम कार्यकारी परिषद्का सचिव बान्या खुङ आङका अनुसार उक्त घटनामा २१ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सोही दिन रखाइन राज्यको म्राउक–यू नगरपालिकाका दुई आवासीय क्षेत्रमा पनि हवाई आक्रमण भएको थियो। उद्धार अधिकारी वाइ हुन आङका अनुसार उक्त घटनामा कम्तीमा २४ जनाले ज्यान गुमाएका छन् भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्। मृतकको सङ्ख्या थप बढ्न सक्ने उनको भनाइ छ।यसअघि नोभेम्बर २६ मा म्याग्वे क्षेत्रमा विद्यालय र बौद्ध गुम्बा रहेको परिसरलाई लक्षित गरी आक्रमण भएको थियो। म्यान्माको राष्ट्रिय एकता सरकारका अनुसार उक्त घटनामा शिक्षक तथा बालबालिकासहित करिब २० सर्वसाधारण र लोकतन्त्र समर्थक नौ लडाकूको मृत्यु भएको थियो। आक्रमणमा २१ जना घाइते भएका थिए।
घटनाबारे सैनिक समर्थित सरकारले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। म्यान्माको सेनाले भने यसअघि आफूले सैन्य कारबाहीका क्रममा वैध लक्ष्यलाई मात्र निशाना बनाउने दाबी गर्दै आएको छ।सन् २०२१ मा सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि म्यान्मामा सशस्त्र द्वन्द्व जारी छ। पछिल्लो समय विपक्षी समूहको नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने उद्देश्यले सेनाले हवाई तथा स्थल कारबाही तीव्र पारेको छ।
यसैबीच, रखाइन राज्यमा सन् २०१७ मा रोहिङ्ग्या मुस्लिम समुदायमाथि सेनाले गरेको कारबाहीलाई नरसंहार ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालयले एक साताअघि फैसला गरेको थियो। त्यसको केही समयपछि पछिल्ला हवाई आक्रमणका घटना भएका हुन्।