काठमाडौं । इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ।
इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ देखि १७ गतेसम्म महासभा सञ्चालन हुँदैछ। उक्त कार्यक्रममा सहभागी हुन शाहसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्मा पनि चीन गएका छन्।महासभामा अन्तर्राष्ट्रिय अपराध नियन्त्रण तथा न्यूनीकरणका विषयमा सदस्य राष्ट्रहरूबीच छलफल हुने कार्यक्रम छ। साथै, इन्टरपोलका विभिन्न नीतिगत प्रक्रियाबारे विचारविमर्श गरिनुका साथै ‘कमिसन फर द कन्ट्रोल अफ इन्टरपोल फाइल’ का रिक्त पदमा निर्वाचनसमेत हुनेछ।
भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी कतार, भारत, जापान, बेलायत, अस्ट्रेलिया, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका प्रतिनिधिहरूसँग पनि द्विपक्षीय छलफल गर्ने तयारी छ।ती भेटवार्तामा समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल हुने जनाइएको छ।