काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सामाजिक गतिविधिलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यसहित ‘एनसी फर एनसी’ अर्थात् ‘राष्ट्रिय मामिलामा नेपाली कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ।
अभियानमार्फत पार्टीको स्थापनाकालीन सामाजिक कार्यशैलीलाई पुनः सक्रिय बनाउँदै समुदायमा आफ्नो उपस्थिति बलियो बनाउने कांग्रेसको तयारी छ।सभापति गगनकुमार थापाले कांग्रेस राजनीतिक गतिविधिमा मात्र सीमित नभई सामाजिक परिवर्तनमा पनि सक्रिय हुनुपर्ने बताए। अब सार्वजनिक तथा सामाजिक काम गर्दा पार्टीको पहिचान जोडेर अघि बढ्न नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे।
थापाले पार्टी स्थापनाको समयमा बीपी कोइरालाले निश्चित अवधि सामाजिक काम गरेका व्यक्तिलाई मात्र कांग्रेसको सदस्यता दिने व्यवस्था गरेको ऐतिहासिक अभ्यास स्मरण गराए। त्यही परम्परालाई पुनः स्थापित गर्ने उद्देश्यले नयाँ अभियान सुरु गर्न लागिएको उनको भनाइ थियो।देशका विभिन्न स्थानमा कांग्रेसका नेता तथा कार्यकर्ता सामाजिक सेवामा संलग्न रहे पनि ती गतिविधिलाई पार्टीको पहिचानसँग जोड्न नसकिएको उनले बताए। अबदेखि सामाजिक काम गर्दा कांग्रेसको नाम र सहभागिता स्पष्ट देखिने गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए।
अभियानअन्तर्गत आगामी पुसदेखि चैतसम्म चार महिनाको अवधिमा देशभरका प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामाजिक परियोजना सञ्चालन गर्ने लक्ष्य राखिएको छ।स्थानीय आवश्यकता र अवस्थालाई ध्यानमा राखेर विद्यालयका कक्षाकोठा निर्माण, विपन्न परिवारका लागि आवास, खानेपानी आयोजना, सांस्कृतिक सम्पदाको संरक्षण, सीपमूलक तालिम, कृषि प्रवर्द्धन, वातावरण संरक्षण तथा युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम छनोट गर्न सकिनेछ।
स्थानीय तहमा सञ्चालन हुने परियोजनाका लागि आवश्यक स्रोत र साधन पार्टीको केन्द्रीय कार्यालयले जुटाउने सभापति थापाले प्रतिबद्धता जनाएका छन्। उनले स्थानीय नेता तथा कार्यकर्तालाई परियोजना छनोट गरेर काम अघि बढाउन आग्रह गर्दै स्रोतको अभाव हुन नदिने बताएका छन्।छनोट गरिएका कार्यक्रमको विवरण पुसको अन्तिम सातासम्म केन्द्रीय कार्यसमितिमा लिखित रूपमा बुझाउनुपर्नेछ। आवश्यकताअनुसार परियोजनालाई चार महिना, छ महिना वा एक वर्षसम्म निरन्तरता दिन सकिने व्यवस्था पनि गरिएको छ।
अभियानको अनुगमन र व्यवस्थापनका लागि केन्द्रमा छुट्टै सचिवालय स्थापना गरिने कांग्रेसले जनाएको छ। सचिवालयले देशभर सञ्चालित कार्यक्रमको विवरण संकलन गरी सभापतिसमक्ष प्रतिवेदन पेस गर्नेछ।चार महिनापछि अभियानको समीक्षा गरिने र कुन स्थानीय तहमा कस्ता काम भए भन्ने विवरणका आधारमा नेता तथा कार्यकर्ताको सांगठनिक मूल्याङ्कन गरिने सभापति थापाले स्पष्ट पारे।