काठमाडौं ।ललितपुरको भल्पा मन्दिर आसपास भएको चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
चोरी भएको सूचना पाएपछि अनुसन्धानमा जुटेको प्रहरीले २४ घण्टाभित्रै उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।प्रहरीका अनुसार गत बुधबार राति ललितपुर महानगरपालिका–१५ स्थित भल्पा मन्दिर नजिकै डेरा गरी बस्ने बाँकेको कोहलपुरका २६ वर्षीय मनिष श्रेष्ठको फ्ल्याटमा चोरी भएको थियो। कोठामा कोही नभएको मौका छोपी ढोकाको भित्री ताल्चा फुटाएर सुनचाँदीका गरगहना, नगद तथा अन्य सामान चोरी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा ललितपुर र आसपासका विभिन्न स्थानबाट चोरीका सामानसहित तीन जना पक्राउ परेका हुन्।पक्राउ पर्नेमा ३६ वर्षीय प्रवेश मुनि शाक्य, ३७ वर्षीय अमित महर्जन र २९ वर्षीय गोविन्द लामा रहेका छन्। उनीहरू ललितपुर, भक्तपुर तथा काभ्रेका विभिन्न स्थानका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट एक लाख ८५ हजार ६२० रुपैयाँ नगद, चार थान मोबाइल, सुन तथा चाँदीका विभिन्न गरगहना, घडी, मोतीको माला र अन्य सामग्री बरामद गरेको छ।जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।