काठमाडौं ।अस्ट्रेलियामा आधाभन्दा बढी नागरिकले आफ्नो जीवनमा कम्तीमा एकपटक अवैध लागुऔषध प्रयोग गरेको पाइएको छ।
अस्ट्रेलियाको सरकारी निकायले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणले यस्तो तथ्य देखाएको हो।अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर एआईएचडब्ल्यू ले सार्वजनिक गरेको सन् २०२५ को राष्ट्रिय लागुऔषध रणनीति सर्वेक्षणअनुसार १४ वर्ष वा सोभन्दा माथिका ५१ प्रतिशत नागरिकले जीवनमा कुनै न कुनै अवैध लागुऔषध प्रयोग गरेको बताएका छन्। सन् २०२२–२३ मा यस्तो संख्या ४७.३ प्रतिशत थियो। सन् २००१ मा भने यो अनुपात ३७.७ प्रतिशत मात्रै रहेको थियो।
प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागीमध्ये १८।३ प्रतिशतले पछिल्लो एक वर्षभित्र अवैध लागुऔषध सेवन गरेका छन्। सन् २०२२–२३ मा यो दर १७.९ प्रतिशत र सन् २००१ मा १६.७ प्रतिशत थियो।अस्ट्रेलियामा सबैभन्दा बढी प्रयोग हुने अवैध लागुऔषधमा गाँजा पहिलो स्थानमा छ भने कोकिन दोस्रो स्थानमा रहेको छ। सन् २०२५ को तथ्याङ्कअनुसार १५.६ प्रतिशत नागरिकले जीवनमा कम्तीमा एकपटक कोकिन सेवन गरेको बताएका छन्। सन् २००१ मा यस्तो अनुपात ४.४ प्रतिशत मात्रै थियो।
अवैध लागुऔषध प्रयोग गर्नेको संख्या बढिरहँदा जोखिमपूर्ण मदिरा सेवन गर्नेको दर भने घटेको प्रतिवेदनले देखाएको छ। सन् २०२५ मा १४ वर्षमाथिका २६.१ प्रतिशत नागरिक जोखिमपूर्ण स्तरमा मदिरा सेवन गर्ने समूहमा परेका छन्। सन् २०२२–२३ मा यो दर ३०.७ प्रतिशत र सन् २००१ मा ३८.१ प्रतिशत थियो।
त्यस्तै, दैनिक धूमपान गर्नेको संख्यामा पनि उल्लेख्य कमी आएको छ। सन् २००१ मा १९.५ प्रतिशत रहेको दैनिक धूमपानको दर सन् २०२२–२३ मा ८.३ प्रतिशत पुगेको थियो। सन् २०२५ मा भने यो घटेर ५.६ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ।