काठमाडौं ।साउदी अरबमा भएको आक्रमणका क्रममा घाइते भएका नेपाली कामदारमध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।
घटनामा अन्य तीन नेपालीसमेत घाइते भएका छन् ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गत मंगलबार आक्रमणमा परी गम्भीर घाइते भएका नेपालीको बिहीबार उपचारका क्रममा निधन भएको हो । मृतकको शरीरको ठूलो हिस्सा जलेको र चिकित्सकले उपचार प्रयास गरे पनि बचाउन नसकिएको उनले जानकारी दिए ।
मन्त्रालयका अनुसार साउदी अरबमा पछिल्लो समय हुथी विद्रोहीबाट मिसाइल तथा ड्रोन आक्रमण भइरहेका छन् । साउदीको रक्षा प्रणालीले आक्रमणलाई आकाशमै निष्क्रिय पार्ने क्रममा खसेका अवशेषबाट आगलागी तथा मानवीय क्षति हुने गरेको छ । यस्ता घटनामा हालसम्म चार नेपाली प्रभावित भएका छन् । उनीहरूमध्ये एक जनाको मृत्यु भएको, दुई जना गम्भीर घाइते रहेको र एक जना उपचारपछि घर फर्किएको मन्त्रालयले जनाएको छ ।घाइते नेपालीको स्वास्थ्य अवस्था बुझ्ने, उपचारमा समन्वय गर्ने तथा मृतकको शव स्वदेश ल्याउने प्रक्रिया साउदीस्थित नेपाली दूतावासले अघि बढाएको छ । साथै, त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरिएको छ ।नेपाल सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेको छ ।