काठमाडौं । चितवनका मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरका ६ स्थानमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ ।
सडक दुर्घटना कम गर्ने र सवारी आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले जडान गरिएका बत्ती औपचारिक रूपमा सञ्चालनमा आएका हुन् ।भरतपुर महानगरपालिका–१० स्थित चौबिसकोठीमा महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रूपमा स्विच थिचेर ट्राफिक बत्ती सञ्चालन गरेका हुन् ।
पुलचोक–गोन्द्राङ छ लेन सडक तथा बाइपास सडकअन्तर्गत पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक बत्ती जडान गरिएको छ ।कार्यक्रममा सडक डिभिजन कार्यालय चितवनका प्रमुख इन्जिनियर अमितकुमार शर्मा र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक बत्तीको प्रयोग तथा सडक सुरक्षाका विषयमा जानकारी गराएका थिए ।
सबैभन्दा धेरै ट्राफिक बत्ती रहेको भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले महानगरपालिकाको आग्रहमा सडक विभागमार्फत बत्ती जडान गरिएको बताए । उनले जडान गरिएका बत्तीको प्रभावकारी प्रयोग गर्दै ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुपर्नेमा जोड दिए ।सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले बत्ती जडान गरेको हो । महानगरपालिकाका ६ चोकमा ट्राफिक बत्ती राख्न २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित १ करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार २०८२ चैत २० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि निर्माण कम्पनीले निर्धारित समयभन्दा ढिलो गरी बत्ती जडान गरेको हो ।