काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई आगामी संस्करणदेखि एकभन्दा बढी मैदानमा सञ्चालन गर्ने र क्रमशः आठवटै प्रदेशमा विस्तार गर्ने योजना सरकारले अघि सारेको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फ्रेन्चाइज क्लबहरूसँगको छलफलमा आगामी सिजनदेखि नै बहु–भेन्युमा प्रतियोगिता सञ्चालन गर्ने सम्भावनाबारे कुराकानी भएको बताएका छन्। मन्त्री पोखरेलका अनुसार सुरुमा दुई वा तीनवटा रंगशालाबाट होम एन्ड अवे प्रणाली लागू गर्ने र त्यसलाई क्रमशः विस्तार गर्दै पाँचौँ तथा छैटौँ संस्करणसम्म आठवटै मैदानमा पुर्याउने लक्ष्य छ। क्लब सञ्चालकहरू पनि सरकारले तय गर्ने मोडेलअनुसार सहकार्य गर्न सकारात्मक देखिएको उनले बताएका छन्।
रंगशाला निर्माण तथा सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा निजी क्लबलाई दीर्घकालीन लिजमा दिने विकल्पमा छलफल भइरहेको मन्त्री पोखरेलले बताए। सरकार र निजी क्षेत्र मिलेर पूर्वाधार निर्माण गर्ने, लागत तथा आम्दानी बाँडफाँट गर्ने लगायतका विषयमा पनि क्लब प्रतिनिधिहरूसँग विचार आदानप्रदान भएको छ। सरकारले क्रिकेट रंगशाला निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा समेटेको जनाउँदै केही आयोजनामा टेन्डर प्रक्रिया अघि बढिसकेको मन्त्रीले बताएका छन्। बाँकी मैदानमा निजी क्षेत्रसँग सहकार्य गरेर निर्माणलाई गति दिने र होम एन्ड अवे प्रणाली लागू गर्ने तयारी रहेको उनको भनाइ छ।
एनपीएललाई एकैपटक आठवटा मैदानमा सञ्चालन गर्दा खर्च बढ्ने चुनौती पनि रहेको उनले स्वीकार गरेका छन्। अहिले प्रतियोगिताको प्रसारण, प्रोडक्सन टोली र खेलमा प्रयोग हुने रिभ्यु प्रणालीमा ठूलो लागत लाग्ने भएकाले सबै मैदानमा एकैपटक समान स्तरको सुविधा विस्तार गर्न कठिन हुने उनको भनाइ छ। त्यसैले चरणबद्ध रूपमा भेन्यु थप्दै लैजाने योजना बनाइएको छ।
राष्ट्रिय खेलकुदको तयारी र आगामी संस्करणको योजना
मन्त्री पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्नु मन्त्रालयका लागि चुनौतीपूर्ण रहेको पनि बताएका छन्। पटक–पटक मिति सर्दै आएको प्रतियोगिता यसपटक जसरी पनि सम्पन्न गर्ने निर्णयसहित तयारी अघि बढाइएको र मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा कर्मचारीको मेहनतले प्रतियोगिता सुरु गर्न सम्भव भएको उनले बताए।
उनका अनुसार प्रतियोगिता सम्पन्न भएलगत्तै एघारौँ राष्ट्रिय खेलकुदको तयारी थालिनेछ। आगामी संस्करणदेखि प्रतियोगिता व्यवस्थापनका लागि छुट्टै स्थायी संयन्त्र बनाउने योजना रहेको भन्दै दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद अब वर्षौँसम्म रोक्ने अवस्था आउन नदिने उनले बताएका छन्।दसौँ राष्ट्रिय खेलकुदका लागि सुरुमा ४४ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कुल खर्च करिब ७० देखि ७२ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
मन्त्री पोखरेलले थप खर्चको स्रोत सुनिश्चित भइसकेको दाबी गरेका छन्। प्रतियोगिता व्यवस्थापनका क्रममा केही पूर्वाधारगत समस्या देखिएको उनले उल्लेख गरे। कर्णालीमा रहेको बहुउद्देश्यीय हलको पौडी पोखरी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक लम्बाइको नभएपछि पौडी प्रतियोगिता नेपालगन्जमा सञ्चालन गर्नुपरेको उनले बताए। राष्ट्रिय खेलकुदको उद्घाटन समारोहलाई खेलाडी केन्द्रित र भव्य बनाउने तयारी भइरहेको तथा यसका लागि प्रधानमन्त्री, राष्ट्रपति र सम्बन्धित मन्त्रीहरूसँग समन्वय भइरहेको पनि पोखरेलले जानकारी दिएका छन्।