काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी सेवा प्रदायक भिसाबीच कार्ड सेवा विस्तार तथा डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले रणनीतिक सम्झौता भएको छ।
सम्झौतामार्फत बैंकले आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको कार्ड सेवाको दायरा विस्तार गर्नुका साथै भुक्तानी स्वीकार गर्ने सुविधा बढाउने र नयाँ सेवा विकास गर्ने लक्ष्य राखेको छ। यस सहकार्यले ग्राहकलाई थप सहज र उत्कृष्ट भुक्तानी अनुभव प्रदान गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।सम्झौताबारे प्रतिक्रिया दिँदै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले भिसासँगको सहकार्यले बैंकको कार्ड व्यवसायलाई थप मजबुत बनाउने बताएका छन्। कार्डको पहुँच र प्रयोग बढाउँदै ग्राहक सुविधामा सुधार गर्ने तथा डिजिटल भुक्तानी प्रणालीको विकासमा योगदान पुर्याउने बैंकको योजना रहेको उनले बताए।
त्यस्तै, भिसाका नेपाल, भुटान तथा बङ्गलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढिरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको सहकार्यले सुरक्षित, भरपर्दो र आधुनिक भुक्तानी सेवाको पहुँच विस्तार गर्न मद्दत पुग्ने बताएका छन्।सम्झौताअनुसार सिद्धार्थ बैंकले ग्राहकका लागि सुरक्षित र सहज डिजिटल भुक्तानीका नयाँ विकल्प विस्तार गर्नेछ। साथै, थप आकर्षक सुविधा तथा विशेष अफर ल्याउने तयारी पनि बैंकले गरेको छ। यस सहकार्यबाट नेपालको कार्ड तथा डिजिटल भुक्तानी बजारमा बैंकको उपस्थिति थप बलियो हुने अपेक्षा गरिएको छ।