काठमाडौं । नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोषलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।
समान प्रकृतिका सेवा प्रदान गर्ने संस्थाबीचको प्रतिस्पर्धा रहे पनि कोष परिचालनमा सबैभन्दा ठूलो बाधा सामाजिक सुरक्षा कोषबाट सिर्जना भएको कोषले जनाएको छ। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले यस्तो धारणा राखेका हुन्। उनका अनुसार सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषमा आबद्ध भइसकेका संस्थालाई समेत पत्राचार गरेर अनिवार्य रूपमा आफ्नो कार्यक्रममा सहभागी हुन दबाब दिने गरेको छ।
त्यस्तै, रकम पठाउने तथा व्यवस्थापन गर्ने विषयमा कानुनी कारबाहीको व्यवस्था रहेकाले संस्थाहरूलाई थप कठिनाइ भइरहेको कार्कीले बताए। यसले नागरिक लगानी कोषको कार्यक्षेत्र र कोष परिचालनमा जटिलता थपेको उनको भनाइ छ। कार्यकारी निर्देशक कार्कीले जनशक्ति अभावका कारण पुँजी बजारमा निजी क्षेत्रका सेवा प्रदायक संस्थासँग प्रतिस्पर्धा गर्नसमेत कठिन भइरहेको बताए। उनले हकप्रद सेयर जारी गरेर तत्काल पुँजी जुटाउने कोषको उद्देश्य नरहेको स्पष्ट पारे। ऐनले तोकेको अधिकृत पुँजीको सीमाभित्र रहेर संस्थाले गरेको आम्दानीका आधारमा बोनस सेयरमार्फत क्रमिक रूपमा पुँजी वृद्धि गर्ने योजना रहेको उनले जानकारी दिए।