काठमाडौं । धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत) ले सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने निर्णय गरेको छ।
नेकपा बहुमत र नेकपा जनपक्षबीच एकता गरी पार्टी पुनर्गठन गरेसँगै पदकेन्द्रित नेतृत्व प्रणालीको सट्टा विचारकेन्द्रित सामूहिक नेतृत्व प्रणाली अपनाउने निर्णय गरिएको हो। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक धमेन्द्र बास्तोलाले दुई पार्टीबीचको एकतापछि बसेको पूर्णता बैठकका निर्णय सार्वजनिक गर्दै नयाँ पार्टीले सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने जानकारी दिएका हुन्। उनले पदलाई केन्द्रमा राखेर नेतृत्व गर्ने परिपाटी अन्त्य गर्दै विचार र सिद्धान्तमा आधारित सामूहिक नेतृत्वलाई प्राथमिकता दिइएको बताए।
संयोजक बास्तोलाले देशमा पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सरकारलाई ठोस कदम चाल्न दबाब दिने पनि बताए। माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउनुपर्ने, नागरिकलाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने र प्रत्येक नागरिकका लागि संविधानले सुनिश्चित गरेको रोजगारीको हक कार्यान्वयन गर्नुपर्ने उनको माग छ। संविधानले सुनिश्चित गरेका नागरिकका अधिकार निजीकरण र व्यापारीकरण हुँदै गएको आरोप लगाउँदै बास्तोलाले सरकारको आलोचनासमेत गरे। नवगठित पार्टीले श्रमजीवी जनताको हित र अधिकार सुनिश्चित गर्न नयाँ जनविद्रोह आवश्यक रहेको निष्कर्ष निकालेको छ। संयोजक बास्तोलाले वर्तमान सत्ता दलाल पुँजीवादी चरित्रको रहेको दाबी गर्दै श्रमजीवी वर्गको पक्षमा परिवर्तन ल्याउन वैज्ञानिक समाजवादी क्रान्तिको आवश्यकता रहेको बताए।