काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंका दुई मासु कोल्ड स्टोरमा स्थलगत अनुगमन गरेकी छन्।
मन्त्री चौधरी आफैं स्कुटर चलाएर अनुगमनमा निस्किएकी थिइन्। उनी ललितपुरस्थित जावलाखेल क्वाटरबाट स्कुटरमा बालाजु र सीतापाइला पुगेकी हुन्। स्कुटरको पछाडिको सिटमा उनका निजी सुरक्षा अधिकारी पीएसओ थिए।उनले बालाजुस्थित भ्याली कोल्डस्टोर र सीतापाइलाको बुढाथोकी कोल्डस्टोरमा पुगेर त्यहाँ भण्डारण गरिएको मासुजन्य वस्तुको अवस्था तथा स्वच्छता र गुणस्तरबारे जानकारी लिएकी थिइन्। मन्त्रीको सचिवालय सदस्य सरिता चौधरीले अनुगमनबारे जानकारी दिएकी हुन्।
मन्त्री चौधरीको यो अनुगमन मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को अवस्थाबारे बुझ्न गरिएको सचिवालयले जनाएको छ।उक्त ऐन सोही मितिदेखि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै स्थानीय तहमा लागू गरिएको छ। उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले उपत्यकाबाट ऐनको कार्यान्वयन अघि बढाएको हो।ऐन कार्यान्वयनसँगै मासुको उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरणमा तोकिएका मापदण्ड पालना भएरनभएको विषयमा अनुगमनलाई प्राथमिकता दिइएको छ।