काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डीएसपी डा. हेमबहादुर केसीले पत्रकारिता क्षेत्रलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा डीएसपी केसीको अभिव्यक्तिलाई निन्दनीय र खेदजनक भनिएको छ।महासंघले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र पत्रकारका अधिकारको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, पत्रकारिता जगत्लाई लाञ्छित गर्ने गरी दिइएको अभिव्यक्ति तत्काल सार्वजनिक रूपमा सच्याउन पनि माग गरेको छ।