काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव अझै कायम रहेकाले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही भूभागमा चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने देखिएको छ।
हाल पश्चिमी वायुको प्रभावका कारण देशको हिमाली र पहाडी भूभागमा आंशिक बदली भइरहेको छ। आज दिउँसो हिमाली क्षेत्रमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति पनि देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान छ।
सोमबार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।