काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
अघिल्लो दिन ६।६२ अंकले बढेको नेप्से परिसूचक आज थप १.४० अंकले उकालो लाग्दै २ हजार ६६५ अंकमा पुगेको छ ।बजारमा परिसूचकको वृद्धि न्यून रहे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबार भएका कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढ्दा १७१ वटाको घटेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
समूहगत परिसूचकतर्फ अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ । नेपाल पुनर्बिमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा भएको वृद्धिले यस समूहलाई माथि उकासेको हो । हकप्रद सेयर जारी गर्ने निर्णयसँगै नेपाल पुनर्बिमाको मूल्य १५ प्रतिशत र हिमालयन रिइन्स्योरेन्सको मूल्य ११.४८ प्रतिशतले बढेको छ ।
अन्य समूहसँगै व्यापार समूह १.११ प्रतिशत र जीवन बीमा समूह ०.१० प्रतिशतले बढेका छन् । बाँकी अधिकांश समूह भने ओरालो लागेका छन् । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा समूहमा गिरावट आएको छ ।
कम्पनीगत रूपमा नेपाल पुनर्बिमा, हिमालयन रिइन्स्योरेन्स, श्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । यता शिखर पावर, सीवाईसी लघुवित्त, चिरख्वा हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तको मूल्य घटेको छ ।
बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा श्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक रहेका छन् ।