काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल दलित सङ्घको नेतृत्वमा यमुना विश्वकर्मालाई चयन गरेको छ ।
पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशाङ्क कोइरालाले तनहुँकी विश्वकर्मालाई सङ्घको अध्यक्षमा मनोनयन गरेका हुन् ।कोइरालाद्वारा हस्ताक्षरित मनोनयन पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ को उपधारा १ (च) अनुसार केन्द्रीय समितिको निर्णयबमोजिम उनलाई जिम्मेवारी दिइएको उल्लेख छ ।
नवनियुक्त अध्यक्ष विश्वकर्मालाई आगामी ६ महिनाभित्र नेपाल दलित सङ्घको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको छ ।कांग्रेसको स्थापित मूल्य र मान्यताअनुसार सङ्गठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने अपेक्षा मनोनयन पत्रमा गरिएको छ ।