काठमाडौं ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजारमा हुन सक्ने कालोबजारी तथा अनियमितता नियन्त्रणका लागि सम्बन्धित निकायलाई सक्रिय बनाउने निर्णय गरेको हो ।बैठकले कालोबजारी नियन्त्रणमा कडाइ गर्न सम्बन्धित मन्त्रालयलाई आवश्यक कदम चाल्न निर्देशन दिने निर्णयसमेत गरेको छ । चाडपर्वका बेला उपभोग्य वस्तुको मूल्य, आपूर्ति र बिक्री वितरणमा हुन सक्ने अनियमितता रोक्न अनुगमनलाई तीव्रता दिइने जनाइएको छ ।
त्यसैगरी, सरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी र चुस्त भए–नभएको विषयमा पनि अनुगमन गर्ने निर्णय भएको छ ।
मुख्यसचिवको नेतृत्वमा बस्ने सचिवहरूको यो नियमित बैठक हो । दसैँ बिदाका कारण प्रभावित भएको बैठक सोमबार बसेको हो । बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल भएको एक सचिवले जानकारी दिएका छन् ।