काठमाडौं ।यमनको हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न विमानस्थल, तेल प्रशोधन केन्द्र तथा सैन्य संरचनालाई लक्षित गरी ६ वटा आक्रमण गरेको दाबी गरेको छ।
हुथी समूहका सैन्य प्रवक्ता याह्या सारीले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत आक्रमणका विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार साउदी अरबको रास तनुरा तेल प्रशोधन केन्द्र, अरामकोको अब्काइकस्थित केन्द्र, रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, दमामको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल र राबिगस्थित तेल प्रशोधन केन्द्रलाई निशाना बनाइएको थियो।
त्यसैगरी नज्रान क्षेत्रमा रहेको साउदी सेनाको मुख्यालयमाथि पनि आक्रमण गरिएको समूहको दाबी छ। यद्यपि हुथी विद्रोहीले सार्वजनिक गरेका आक्रमणसम्बन्धी विवरणको स्वतन्त्र पुष्टि हुन सकेको छैन।क्षेत्रीय तनाव कम गर्ने विषयमा इरान, साउदी अरब, टर्की र पाकिस्तानका उच्च अधिकारीहरूबीच तेहरानमा छलफल भएको केही दिनपछि हुथी समूहको यो घोषणा आएको हो। उक्त बैठकमा चारै देशले संवाद र आपसी सहकार्यलाई निरन्तरता दिने सहमति गरेका थिए।
यसैबीच साउदी नेतृत्वको गठबन्धनले राजधानी रियादलाई लक्षित गरी प्रहार गरिएका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय पारेको जनाएको छ।साउदी नागरिक सुरक्षा निकायका अनुसार क्षेप्यास्त्रका अवशेष खस्दा एक जना नागरिक घाइते भएका छन्। घटनाका कारण एउटा घर र सवारीसाधनमा समेत क्षति पुगेको छ।पछिल्लो घटनाक्रमले साउदी अरब र यमनका हुथी विद्रोहीबीचको सुरक्षा तनाव पुनः चर्चामा आएको छ।