काठमाडाैँ । चीनका राष्ट्रपति सी चिनफिङले पार्टीभित्र अनुशासन र भ्रष्टाचार नियन्त्रणका नाममा सञ्चालन गर्दै आएको अभियान थप कडा बनाएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न महत्त्वपूर्ण वार्षिक बैठकपछि ३३ जना नेतामाथि कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको छ। निष्कासनमा पर्नेमा १६ जना सैनिक अधिकारीसमेत रहेका छन्। यो अहिलेसम्मकै ठूलो संख्यामा भएको निष्कासन हो। चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौँ पूर्ण बैठकमा केन्द्रीय समितिका २७९ जना सदस्य सहभागी भएका थिए। यसअघि सन् २०२५ को अक्टोबरमा भएको चौथो बैठकमा ३१५ जना र सन् २०२४ को जुलाईमा सम्पन्न तेस्रो बैठकमा ३६४ जना सहभागी भएका थिए। विगतका बैठकमा आर्थिक सुधार, विकास र सामाजिक विषयले प्राथमिकता पाउँदै आए पनि यसपटक भने पार्टीभित्रको अनुशासन र भ्रष्टाचार नियन्त्रण मुख्य एजेन्डा बनेको थियो।
सन् २०१२ मा चीनको नेतृत्व सम्हालेदेखि नै राष्ट्रपति सीले भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो शासनको प्रमुख प्राथमिकतामा राख्दै आएका छन्। उनले भ्रष्टाचारलाई पार्टीका लागि सबैभन्दा ठूलो खतराका रूपमा व्याख्या गर्दै आएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको अनुशासनसम्बन्धी आयोगका अधिकारी झाङ फुहाईले सन् २०१२ यता दुई करोडभन्दा बढी व्यक्तिमाथि विभिन्न अनुशासन उल्लङ्घनका गतिविधिमा संलग्न भएको भन्दै कारबाही गरिएको जानकारी दिएका छन्। अनावश्यक औपचारिकता, कर्मचारीतन्त्रको प्रभाव, विलासी जीवनशैली र अनावश्यक खर्चलाई समेत अनुशासनहीन गतिविधिमा समेटिएको उनले बताए। पार्टीभित्र भ्रष्टाचार गर्ने आँट नहुने, भ्रष्टाचार गर्न नसक्ने र भ्रष्टाचार गर्ने इच्छा नै नजाग्ने वातावरण बनाउने गरी थप कडा कदम चालिने पनि उनले बताएका छन्।
बेइजिङस्थित एक होटलमा चार दिनसम्म चलेको बन्द बैठक बिहीबार सम्पन्न भएको थियो। बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा ३३ जना सदस्यलाई पार्टीबाट हटाइएको उल्लेख छ। यद्यपि उनीहरूमाथि लागेको आरोपबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। विज्ञप्तिमा उनीहरूले गम्भीर अनुशासन उल्लङ्घन र कानुनविपरीतका गतिविधि गरेको मात्र जनाइएको छ। विश्लेषकहरूका अनुसार सीको भ्रष्टाचारविरोधी अभियान केवल आर्थिक अनियमितता रोक्ने प्रयासमा सीमित छैन। यसले पार्टीभित्र आफ्नो नियन्त्रण र राजनीतिक प्रभाव कायम राख्न पनि भूमिका खेलेको छ। कार्नेगी चाइनाका अनुसन्धानकर्ता चोङ जा इआनका अनुसार सीले आफ्नो सत्ता कति सुरक्षित महसुस गर्छन् भन्ने आधारमा यस्तो अभियान अझ विस्तार हुन सक्ने देखिन्छ।
सीको तेस्रो कार्यकालमा मात्रै पार्टीबाट निष्कासन हुने सदस्यको संख्या ५१ पुगेको छ। पहिलो कार्यकालमा ३५ जना र दोस्रो कार्यकालमा पाँच जना निष्कासन भएका थिए। त्यस्तै, यस वर्षको पहिलो नौ महिनामा मात्रै पार्टीको भ्रष्टाचारविरोधी निकायले ६ लाख ८० हजार जनामाथि विभिन्न अनुशासन उल्लङ्घनका घटनामा कारबाही गरेको जनाएको छ। सीको १४ वर्षे शासनकालमा पहिलोपटक पार्टीको पूर्ण बैठकमा सहभागी केन्द्रीय समिति सदस्यको संख्या ३०० भन्दा कम भएको छ। सन् २०२२ मा वर्तमान केन्द्रीय समितिको कार्यकाल सुरु हुँदा ३७० भन्दा बढी सदस्य थिए। विश्लेषकहरूको बुझाइमा सीका लागि भ्रष्टाचारको अर्थ घुस लिने वा अवैध रूपमा पैसा कमाउने काममा मात्र सीमित छैन। पार्टीको विचारधाराप्रति प्रतिबद्ध नहुनु र नेतृत्वको निर्देशन पालना नगर्नुलाई समेत अनुशासनहीनताको रूपमा हेरिने गरेको छ। यसै वर्ष जनवरीमा सीले बाहिरबाट आफूलाई वफादार देखाउने तर भित्रभित्रै पार्टीको आदेश उल्लङ्घन गर्ने अधिकारीहरूप्रति सचेत रहन चेतावनी दिएका थिए।
को–को परे कारबाहीमा?
पार्टीबाट निष्कासन गरिएका उच्च तहका नेताहरूमा सिन्जियाङका पूर्व पार्टी प्रमुख मा सिङरुई, पूर्व वरिष्ठ सैनिक जनरल झाङ युस्या र लिउ झेनली रहेका छन्। उनीहरूमाथि पार्टीको अनुशासन र नियम गम्भीर रूपमा उल्लङ्घन गरेको आरोप लगाइएको छ। चिनियाँ राजनीतिक सन्दर्भमा यस्तो आरोपलाई भ्रष्टाचारसँग जोडेर हेर्ने गरिन्छ। विशेषगरी सेनाका उच्च अधिकारीमाथि गरिएको कारबाहीलाई अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। झाङ युस्या केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष थिए। उक्त आयोगले चीनको सैन्य संरचनाको नेतृत्व तथा सञ्चालन गर्छ।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अनुसन्धानकर्ताहरू निल थोमस, लोबसाङ छिरिङ र शेङयु वाङका अनुसार सेनाभित्र भइरहेको व्यापक कारबाहीले चीनको सैनिक नेतृत्व र युद्धका लागि सेनाको तयारी क्षमतामाथि प्रश्न उठाएको छ। यसैगरी, लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका चीनका पूर्व कूटनीतिज्ञ लिउ जियानछाओ पनि कारबाहीमा परेका व्यक्तिको सूचीमा छन्। उनी सन् २०२५ को जुलाईदेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। अनुसन्धानकर्ता चोङका अनुसार सीले आफैँ अवसर दिएर उच्च पदमा पुर्याएका व्यक्तिहरूसमेत कारबाहीमा पर्नुले पार्टीभित्र उनको प्रभाव र नियन्त्रण बलियो रहेको देखाउँछ। विश्लेषकहरूले पार्टीभित्र अनुशासन र नेतृत्वप्रतिको वफादारीलाई विशेष प्राथमिकता दिनुको एउटा कारण सन् २०२७ मा हुने चिनियाँ कम्युनिस्ट पार्टीको २१औँ महाधिवेशन पनि हुन सक्ने बताएका छन्। उक्त महाधिवेशनबाट आगामी नेतृत्व चयन हुनेछ। सी चिनफिङ चौथो कार्यकालका लागि पनि सर्वोच्च नेतृत्वमा रहने सम्भावनाबारे विश्लेषकहरूले चर्चा गर्दै आएका छन्। यद्यपि आगामी नेतृत्वबारे औपचारिक निर्णय भइसकेको छैन।
चीनका संस्थापक नेता माओत्से तुङपछि लामो समयसम्म देशको सर्वोच्च नेतृत्वमा रहने नेताका रूपमा सीलाई हेरिँदै आएको छ। अनुसन्धानकर्ता निल थोमसका अनुसार केन्द्रीय समितिका धेरै सदस्य हटाइएपछि सीले अब नेतृत्वमा आउन सक्ने नयाँ पुस्ताका नेताहरूलाई थप नजिकबाट निगरानी गर्न सक्छन्। उनका अनुसार सम्भावित नेतृत्वमा रहेका व्यक्तिहरू तुलनात्मक रूपमा युवा, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान भएका छन्। उनीहरूमध्ये केहीको सम्बन्ध सीको राजनीतिक सञ्जालसँग पनि जोडिएको छ। विश्लेषकहरूका अनुसार आगामी महाधिवेशनमा महत्त्वपूर्ण जिम्मेवारी कसले पाउने भन्ने निर्णयमा सीको प्रभाव निर्णायक हुन सक्छ। यसले पार्टी र देशको नेतृत्व संरचनामा उनको पकड अझ बलियो बनाउने उनीहरूको विश्लेषण छ। चोङका अनुसार सीको मुख्य उद्देश्य पार्टीभित्रको सम्पूर्ण शक्ति आफ्नै नियन्त्रणमा केन्द्रित गर्नु हो। तर लामो समयसम्म राज्य र पार्टीको अत्यधिक शक्ति एउटै व्यक्तिमा केन्द्रित हुँदा भविष्यमा गम्भीर समस्या निम्तिन सक्ने चेतावनीसमेत उनले दिएका छन्।