काठमाडाैँ । सराइलको आमनिर्वाचनमा बहुमत गुमाएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले चुनावी नतिजामाथि प्रश्न उठाउँदै धाँधली र विदेशी हस्तक्षेप भएको आरोप लगाएका छन्।
नेतन्याहू नेतृत्वको लिकुड पार्टीले अरब समुदायका मतदातालाई आर्थिक प्रलोभन दिएर मतदान गराइएको र विदेशी शक्तिले समेत चुनाव प्रभावित पार्न रकम खर्च गरेको दाबी गरेको छ। तर इसराइलको निर्वाचन आयोग र प्रहरीले भने चुनावमा व्यापक धाँधली वा बाह्य हस्तक्षेप भएको पुष्टि गर्ने ठोस प्रमाण फेला नपरेको बताएका छन्। निर्वाचनको परिणामअनुसार नेतन्याहू नेतृत्वको गठबन्धनले ५३ सिट जितेको छ। विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट पाउँदा अरब दलहरूले १९ सिट हात पारेका छन्। इसराइलको १२० सदस्यीय संसद् नेसेटमा सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक हुन्छ।
यस नतिजाले सरकार गठनका लागि अरब दलहरूको समर्थनलाई महत्वपूर्ण बनाएको छ। विपक्षी गठबन्धनले अरब दलको साथ पाए ६७ सिट पुग्ने देखिन्छ। तर विपक्षी गठबन्धनभित्रै अरब दलसँग सहकार्य गर्ने विषयमा मतभेद छ। केही दलले उनीहरूसँग औपचारिक गठबन्धन गर्न अस्वीकार गर्दै आएका छन्। मतगणना भइरहेका बेला नेतन्याहूले पार्टी मुख्यालयबाट सम्बोधन गर्दै अरब दलसँग सहकार्य नगर्ने बताएका थिए। तर बहुमत गुमाएपछि भने उनकै पार्टीले अरब मतदातालाई पैसा दिएर मतदान गराइएको आरोप लगाएको छ।
अमेरिकी अनलाइन एक्सियसका अनुसार लिकुड पार्टीको आरोप तीन जना अरब दल रामका कार्यकर्ता पक्राउ परेको घटनामा आधारित छ। उनीहरूमाथि केही मतदातालाई पैसा दिएर आफ्नो पक्षमा मतदान गराएको आशंका गरिएको थियो। यद्यपि प्रहरीले यस घटनालाई देशव्यापी वा व्यापक चुनावी धाँधलीको प्रमाण मानेको छैन। विदेशी हस्तक्षेपको आशंकाबारे अनुसन्धान गर्न इसराइलको निर्वाचन आयोगका प्रमुख तथा सर्वोच्च अदालतका न्यायाधीश नोआम सोलबर्गले आन्तरिक सुरक्षा निकाय शिन बेटलाई पत्राचार गरेका छन्। विदेशी संस्थाबाट रकम उपलब्ध गराएर चुनाव प्रभावित पार्ने प्रयास भएको हुन सक्ने सूचना आफूले पाएको उनले उल्लेख गरेका छन्।
इसराइली सञ्चारमाध्यमले यसमा कतारको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्। तर कतारले कुनै दललाई रकम दिएको वा चुनावमा हस्तक्षेप गरेको आरोप अस्वीकार गरेको छ। कतार सरकारका प्रवक्ताले यस्ता आरोपलाई ‘हास्यास्पद र खतरनाक’ भनेका छन्। निर्वाचन आयोगका कार्यवाहक महानिर्देशक डिन लिभ्नेले भने चुनावमा ठूलो स्तरको धाँधली भएको दाबीको कुनै आधार नरहेको बताएका छन्। उनका अनुसार मतदान प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न भएको थियो र नतिजा प्रभावित पार्ने गरी संगठित गतिविधि भएको प्रमाण भेटिएको छैन। शिन बेटले पनि अनुसन्धान सीमित विषयमा केन्द्रित रहेको स्पष्ट पारेको छ। अरब समुदायका सबै मतदातालाई शंकाको दृष्टिले हेर्नुपर्ने अवस्था नरहेको भन्दै गैरकानुनी गतिविधिमा संलग्न भएको प्रमाण भेटिएका व्यक्तिमाथि मात्रै कारबाही हुने जनाएको छ।
नेतन्याहूको आरोपलाई विपक्षी नेता आइजेनकोटले अस्वीकार गरेका छन्। विदेशी हस्तक्षेप भएको भए निष्पक्ष छानबिन हुनुपर्ने तर अनुसन्धानलाई चुनावी नतिजामाथि प्रश्न उठाउने माध्यम बनाउन नहुने उनको भनाइ छ। उनले संसद्को नयाँ अधिवेशन र सांसदहरूको शपथग्रहण पनि निर्धारित समयमै हुनुपर्ने बताएका छन्। राइखम्यान विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक एतान गिल्बोआले नेतन्याहूको आरोपलाई अरब र यहुदी समुदायबीचको राजनीतिक सहकार्य रोक्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। अरब दलका नेता अहमद तिबीले पनि नेतन्याहूको अभियान आइजेनकोटलाई अरब दलको समर्थन लिएर सरकार बनाउनबाट रोक्ने उद्देश्यमा केन्द्रित रहेको बताएका छन्।
यस निर्वाचनमा अरब समुदायको मतदान उल्लेख्य रूपमा बढेको छ। डीडब्ल्यूका अनुसार सन् २०२२ को निर्वाचनमा करिब ५० प्रतिशत रहेको अरब समुदायको मतदान यसपटक झन्डै ८० प्रतिशत पुगेको छ। अरब दलहरूले यसपटक १९ सिट जितेका छन्, जुन सन् २०२० मा प्राप्त गरेको अहिलेसम्मको उच्च १५ सिटभन्दा बढी हो। इसराइलको कुल जनसंख्याको करिब २१ प्रतिशत हिस्सा अरब समुदायले ओगट्छ। उनीहरूको बढ्दो मतदान सहभागितासँगै संसद्मा अरब दलहरूको प्रतिनिधित्व पनि अहिलेसम्मकै उच्च बनेको छ।