काठमाडाैँ । अस्ट्रेलियामा कार्यरत नेपाली समुदायका लागि गौरवको विषय बनेको छ।
अस्ट्रेलियाको न्यु साउथ वेल्स (एकानएसडब्ल्यू) प्रहरी बलमा वरिष्ठ प्रहरी अधिकारीका रूपमा कार्यरत विकास भारतीलाई राष्ट्रिय प्रहरी बहादुरी पुरस्कारबाट सम्मान गरिएको छ। उनलाई अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सम्मान गरेका हुन्। विएम्बिल्लामा भएको गम्भीर सुरक्षा संकटका बेला भारतीले आफ्ना सहकर्मीसँगै जोखिमको सामना गर्दै सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। घटनाका क्रममा उनले खतरा देखेर पछि हट्नुको सट्टा अगाडि बढेर मानवीय सुरक्षाका लागि काम गरेका थिए।
भारतीको बहादुरीको प्रशंसा गर्दै प्रधानमन्त्री अल्बानिजीले जोखिमतर्फ अघि बढ्न तयार रहने सुरक्षाकर्मीहरूले नै समाजको जीवनशैली र सुरक्षाको रक्षा गर्ने बताएका छन्। उनले देशभरका प्रहरी अधिकारीहरूलाई सेवाका लागि धन्यवादसमेत दिएका छन्। प्रधानमन्त्रीको सन्देशमा अग्रपंक्तिमा खटिने प्रहरी अधिकारीहरूले समुदायको सुरक्षा सुनिश्चित गर्न हरेक दिन समर्पण र त्यागका साथ काम गरिरहेको उल्लेख गरिएको छ। नेपाली मूलका प्रहरी अधिकारी भारतीले पाएको यस सम्मानलाई नेपाली समुदायका लागि गौरवको उपलब्धिका रूपमा हेरिएको छ। उनको साहस र सेवाभावप्रति सामाजिक सञ्जालमा समेत प्रशंसा व्यक्त गरिएको छ।