काठमाडौं ।इजरायलको संसदीय निर्वाचनको करिब ९० प्रतिशत मतगणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ।
विपक्षी दलहरूको कुल सिट संख्या ६७ पुगे पनि उनीहरूबीचको राजनीतिक मतभेदका कारण नयाँ सरकार गठनको समीकरण जटिल बनेको छ।‘द टाइम्स अफ इजरायल’का अनुसार विपक्षी खेमामा यहुदी नेतृत्वका दलले ४८ सिट र अरब नेतृत्वका दलले १९ सिट प्राप्त गरेका छन्। तर, यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग मिलेर सरकार बनाउन तयार नरहेकाले विपक्षीको बहुमतलाई सरकार गठनमा रूपान्तरण गर्न कठिन देखिएको छ।
मतगणना अझै पूर्ण नभएकाले अन्तिम नतिजामा परिवर्तन हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्। विशेषगरी सैनिकसहितका मतदाताको बाँकी मत गणना भएपछि सिटको अन्तिम बाँडफाँट स्पष्ट हुनेछ।विपक्षी नेता गदी आइसेनकोटले प्रारम्भिक परिणामलाई नेतान्याहु नेतृत्वको सरकारप्रतिको जनअविश्वासका रूपमा व्याख्या गरेका छन्। उनले राजनीतिक परिवर्तन र अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध नयाँ सरकार निर्माणका लागि पहल गर्ने बताएका छन्।
त्यस्तै, डेमोक्रेट्स पार्टीका अध्यक्ष यायर गोलनले पनि विपक्षी दलका नेताहरूसँग सरकार गठनका विषयमा छलफल अघि बढाउने बताएका छन्। उनले अरब नेतृत्वका दललाई समेत सम्भावित गठबन्धनमा समेट्नुपर्ने धारणा राखेका छन्।गोलनले विवादास्पद न्यायिक सुधार रोक्ने र युवामा भविष्यप्रतिको विश्वास बढाउने उद्देश्यले नयाँ सरकार आवश्यक रहेको बताएका छन्। अब बाँकी मतगणना र विपक्षी दलहरूबीचको सहकार्यले इजरायलको आगामी सरकारको स्वरूप निर्धारण गर्ने देखिन्छ।