काठमाडाैँ । स्पेनमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६९ पुगेको छ। दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान गर्ने काम जारी रहेको स्पेनको प्रहरीले जनाएको छ।
बुधबार बिहान स्पेनको टोलेडो प्रान्तस्थित उर्दा क्षेत्रनजिकै म्याड्रिडबाट सेभिलतर्फ जाँदै गरेका दुई रेल दुर्घटनामा परेका थिए। एउटा रेल रोकिएको अवस्थामा रहेका बेला अर्को रेल पछाडिबाट ठोक्किएको प्रारम्भिक विवरणमा उल्लेख छ। ठक्करपछि एउटा रेलका कम्तीमा तीनवटा डिब्बा लिकबाट खसेर सडक किनारको भिरमा पुगेका थिए। अर्को रेलको केही भाग पनि लिकबाट बाहिरिएको थियो। दुर्घटनाका बेला दुवै रेलमा ५०० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ। पहिलो रेलमा १४७ जना र दोस्रो रेलमा ३९७ जना यात्रु थिए।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा समस्या आएपछि दुर्घटनामा परेका दुईसहित ६ वटा रेल रोकिएका थिए। प्रणालीमा समस्या आएपछि रेल सञ्चालनको जिम्मा नियन्त्रण केन्द्रले लिने व्यवस्था भए पनि रोकिएका रेललाई फेरि अघि बढ्न अनुमति दिने निर्णय कसरी भयो भन्ने विषयमा प्रश्न उठेको छ। स्पेनी सञ्चारमाध्यममा सार्वजनिक भएका अडियो रेकर्डिङमा रेल चालक र म्याड्रिडस्थित रेल नियन्त्रण केन्द्रबीच दुर्घटनाअघि भएको कुराकानी सुनिएको बताइएको छ। ती रेकर्डिङले अगाडि करिब २५ किलोमिटर दूरीमा अर्को रेल रोकिएको अवस्थामा पनि एउटा रेललाई अघि बढ्न अनुमति दिइएको हुन सक्ने संकेत गरेका छन्।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। बेपत्ता आफन्तको खोजीमा रहेका परिवारलाई डीएनए नमुना दिन स्थानीय सहायता केन्द्रमा जान आग्रह गरिएको छ। घटनापछि स्पेनले तीन दिनको राष्ट्रिय शोकसमेत घोषणा गरेको छ। युरोपको आधुनिक इतिहासका गम्भीर रेल दुर्घटनामध्ये एक मानिएको यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।