काठमाडौं ।नेपाल प्रिमियर लिग एनपीएल मा कर्णाली याक्सबाट खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन्।
श्रीलंकाविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाका लागि पाकिस्तानी टोलीमा बोलाइएपछि उनी स्वदेश फर्कन लागेका हुन्।कर्णाली याक्सले जनाएअनुसार फरहान राष्ट्रिय टोलीको खेलमा सहभागी हुन पाकिस्तान जानेछन्। कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेले अक्टोबर ३१ मा खेल सकिएपछि उनी पुनः एनपीएलमा फर्किन सक्ने सम्भावना रहेको बताएका छन्। फरहानको अनुपस्थितिमा टोलीले अस्थायी रूपमा अर्को खेलाडी अनुबन्ध गर्ने तयारी गरेको छ।
यसैबीच, पाकिस्तानी खेलाडीलाई एनपीएलमा सहभागी गराउने विषयमा पाकिस्तान क्रिकेट बोर्ड पीसीबी ले थप शुल्क मागेको कर्णाली याक्सको भनाइ छ। घिमिरेका अनुसार खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आवश्यक अनापत्ति प्रमाणपत्र एनओसी जारी गर्ने प्रक्रियामा थप २५ हजार अमेरिकी डलर मागिएको हो।खेलाडीहरू आवश्यक अनुमति लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार विदेशी खेलाडीलाई एनपीएलमा सहभागी गराउनुको उद्देश्य प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनुका साथै नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनु पनि हो।
घिमिरेले यस विषयलाई नेपाल र पाकिस्तानबीचको सम्बन्धसँग जोडेर नहेर्न आग्रह गरेका छन्। भविष्यमा पनि पाकिस्तानी खेलाडीलाई नेपाली प्रतियोगितामा सहभागी गराउनुपर्ने अवस्था आउन सक्ने भएकाले आपसी समझदारीबाट समाधान खोज्नुपर्ने उनको धारणा छ।कर्णाली याक्सले फरहानसँगै पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा समावेश गरेको छ। फरहान राष्ट्रिय टोलीको जिम्मेवारीका कारण केही समय अनुपस्थित हुने भएपछि कर्णालीले उक्त अवधिका लागि वैकल्पिक खेलाडी ल्याउने तयारी गरेको जनाएको छ।विदेशी खेलाडीको सहभागिताले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर र लोकप्रियता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएका बेला अनुमति तथा शुल्कसम्बन्धी विषयले टोलीको खेलाडी व्यवस्थापनमा चुनौती थपेको छ।