काठमाडौं । रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालको अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रनको योगदान दिए । उनले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६२ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६९ रन बनाए ।
ओपनर देव खनालले पनि ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन जोड्दै अर्धशतक पूरा गरे । नेपालले ९९ रनमा तीन विकेट गुमाएपछि रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । उनीहरूको साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्याए पनि त्यसपछि लगातार विकेट गुमाउँदा टोली २८० रनमै समेटियो । अन्तिम ओभरतिर ब्याटिङ गरेका बसिर अहमदले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे । ओमानका शाह फेसलले आठ ओभरमा ५७ रन खर्चेर पाँच विकेट लिए । जय ओडेराले तीन तथा समय श्रीवास्तवले दुई विकेट हात पारे ।
नेपाललाई शीर्ष ६ मा उक्लिने अवसर
विश्वकप लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र रहन नेपाललाई ओमानविरुद्धको खेल जित्नैपर्ने दबाब छ । प्रतियोगितामा सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल पछिल्लो खेलमा शनिबार क्यानडासँग पराजित भएको थियो । क्यानडाले नेपाललाई हराएपछि ३६ खेलबाट २९ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । ३५ खेलबाट २८ अंक रहेको नेपाल सातौँ स्थानमा छ । ओमानविरुद्ध जित निकाल्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ । लिग–२ को शीर्ष ६ मा रहने टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने सम्भावना बलियो हुने भएकाले यो खेल नेपालका लागि निर्णायक बनेको छ । अब ओमानविरुद्ध नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा कस्तो प्रदर्शन गर्छ भन्ने कुराले नेपालको शीर्ष ६ मा पुग्ने सम्भावना निर्धारण गर्नेछ ।