काठमाडौँ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका मानबहादुर लिम्बू नेपाली कांग्रेसको संगठन हुँदै प्रदेशसभा सदस्य र कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीसम्म पुगेका छन्।
लोकतान्त्रिक आन्दोलनमा सहभागिता, राजनीतिक संगठनमा विभिन्न जिम्मेवारी र जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव बोकेका लिम्बू अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सभापति पदका सम्भावित दाबेदारका रूपमा चर्चामा छन्। २०२१ साल फागुन १९ गते तेह्रथुमको आङ्बुङमा जन्मिएका लिम्बूको परिवार २०३० सालमा मोरङको डाँगीहाटमा बसाइँ सरेको थियो। उनको औपचारिक राजनीतिक यात्रा २०४० सालमा बेलबारीस्थित श्री धीरनाथ सनफूल माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ सभापति बनेसँगै सुरु भएको हो।
त्यसपछि उनी २०४२ सालको सत्याग्रह आन्दोलनमा युवा तथा विद्यार्थीको नेतृत्व गर्दै सहभागी भए। संगठनमा सक्रिय रहँदै अघि बढेका लिम्बू २०४९ सालमा नेपाल विद्यार्थी संघको तत्कालीन क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति बने भने २०५३ सालमा मोरङ जिल्ला सभापतिमा निर्वाचित भए। २०५७ सालसम्म आइपुग्दा उनले संघको केन्द्रीय संगठन विभागको सचिवको जिम्मेवारीसमेत सम्हाले। लिम्बूको राजनीतिक जीवनमा २०६१ सालको घटना पनि महत्त्वपूर्ण मानिन्छ। राजाको प्रत्यक्ष शासनका बेला लोकतन्त्रको पक्षमा सक्रिय रहेको समयमा उनलाई राति १२ बजे आफ्नै निवासबाट पक्राउ गरिएको थियो। त्यसपछि २०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि उनी युवा तथा विद्यार्थीको नेतृत्व गर्दै सहभागी भए।
पार्टी संगठनमा निरन्तर सक्रिय रहेका लिम्बू २०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि र २०७८ सालमा महासमिति सदस्य बने। २०७९ सालमा मोरङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनको राजनीतिक जिम्मेवारी थप विस्तार भयो। २०८२ सालमा उनले कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हाले। सात महिना सात दिन मन्त्रीका रूपमा काम गरेका लिम्बूको राजनीतिक यात्रामा विद्यार्थी संगठनदेखि सरकारको मन्त्रालयसम्मका अनुभव जोडिएका छन्। लामो समय पार्टी संगठनमा बिताएको अनुभव, लोकतान्त्रिक आन्दोलनमा सहभागिता र प्रदेशसभा सदस्य तथा स्वास्थ्य मन्त्रीका रूपमा निर्वाह गरेको जिम्मेवारीका आधारमा लिम्बूलाई नेपाली कांग्रेसको आगामी कोशी प्रदेश अधिवेशनमा सभापति पदका सम्भावित दाबेदारका रूपमा हेरिएको छ। प्रदेश नेतृत्व चयनको तयारी अघि बढ्दै गर्दा उनको राजनीतिक पृष्ठभूमि र संगठनात्मक अनुभव पनि चर्चाको विषय बनेको छ।