काठमाडौं । इंग्लिस क्लब आर्सनलले युईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली टोली लिललाई ३–० गोलले पराजित गरेको छ।
गएराति इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन गोल गरेको हो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भएको आर्सनलले छोटो समयमै तीन गोल गर्दै सहज जित निकाल्यो। आर्सनलका लागि जुरियन टिम्बर, एबेरेची एजे र बुकायो साकाले गोल गरे। टिम्बरले ६०औँ मिनेटपछि गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि एजेले साकाको पासमा गोल थप्दै अग्रता दोब्बर बनाए। साकाले काई हाभर्ट्जको पासलाई सदुपयोग गर्दै तेस्रो गोल गरेपछि आर्सनलको जित निश्चित भएको थियो।
यस खेलमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले अघिल्लो खेलको टोलीमा पाँच खेलाडी परिवर्तन गरेका थिए। लिड्सलाई २–१ गोलले पराजित गरेको टोलीमा परिवर्तन गरे पनि आर्सनलको प्रदर्शन प्रभावकारी रह्यो। जितसँगै आर्सनलले च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट लय कायम राखेको छ। टोलीले अंकतालिकाको शीर्ष स्थानको प्रतिस्पर्धामा बार्सिलोना र स्पोर्टिङ लिस्बनसँगै आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ।
खेलको अन्तिम समयमा लिलका पूर्वआर्सनल खेलाडी ओलिभियर जिरुड मैदान प्रवेश गर्दा घरेलु समर्थकले स्वागत गरेका थिए। जिरुडले आर्सनलमा बिताएका छ वर्षमा १०५ गोल गरेका थिए। यसअघि पहिलो खेलमा रियल बेटिससँग पराजित भएको लिलले आर्सनलसँगको हारपछि पनि च्याम्पियन्स लिगमा अंक जोड्न सकेन।