काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ।
अल अमेरतस्थित ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ : १५ बजे सुरु हुने तालिका छ।नेपालले शृङ्खलाको आफ्नो पहिलो खेलमा क्यानडालाई हराउँदै राम्रो सुरुवात गरेको थियो। उक्त खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले शतकीय पारी खेलेका थिए। यता, ओमानले पनि यसअघि क्यानडालाई पराजित गरिसकेको छ।
लिग–२ को शीर्ष चारमा पुग्ने नेपालको सम्भावना समाप्त भइसकेको अवस्थामा अब टोलीको ध्यान प्रतियोगितामा बाँकी खेल जित्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बलियो बनाउनेतर्फ केन्द्रित छ।अंकतालिकामा नेपालले ३३ खेलबाट २६ अंक जोडेको छ। नेपाल छैटौँ स्थानमा रहँदा क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ। ओमान भने २९ खेलबाट ३३ अंक जोडेर तालिकामा अघि रहेको छ।
लिग–२ मा शीर्ष चारभित्र पर्न नसक्ने भएपछि नेपालले एकदिवसीय विश्वकप छनोटको अर्को चरणमा पुग्न प्लेअफ प्रतियोगिता खेल्नुपर्ने हुन्छ। उक्त प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र यूएई सहभागी हुने बताइएको छ।नेपालका लागि बाँकी खेलहरू अंकतालिकामा सकेसम्म माथिल्लो स्थानमा रहन महत्त्वपूर्ण छन्। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम रहने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी को स्पष्ट व्यवस्था सार्वजनिक नभएको अवस्थामा छैटौँ स्थानसम्म रहनुलाई तुलनात्मक रूपमा सुरक्षित मानिएको छ।त्यसैले आज ओमानविरुद्धको खेल नेपालका लागि अंक थप्ने अवसर मात्र नभई आगामी क्रिकेट यात्राका लागि आत्मविश्वास बढाउने महत्त्वपूर्ण प्रतिस्पर्धासमेत हुनेछ।