काठमाडौं ।सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिने भन्दै सभामुखसमक्ष पत्र बुझाएका छन्।
प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले थापाले राजीनामा पत्र बुझाएको पुष्टि गरेका हुन्।बुधबार रातोपाटीसँगको कुराकानीमा सभामुख भण्डारीले थापाले अघिल्लो दिन राजीनामा पत्र बुझाएको जानकारी दिए। उनका अनुसार पत्र प्राप्त भए पनि अहिलेसम्म राजीनामा स्वीकृत भएको छैन। यस विषयमा के गर्ने भन्नेबारे आफू परामर्शमा रहेको उनले बताएका छन्।प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले राजीनामा पत्र बुझाएको बताइएको छ। उनी नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
थापाले यसअघि सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।राजीनामा पत्र बुझाएपछि थापासँग सम्पर्क हुन नसकेको जनाइएको छ। सभामुखबाट राजीनामा स्वीकृत भइनसकेकाले उनको पदसम्बन्धी अन्तिम निर्णय भने हुन बाँकी छ।