काठमाडौं ।रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावित नागरिकलाई अस्थायी रूपमा बसोबास गरिरहेको स्थानबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
बाढीका कारण महत्वपूर्ण कागजात गुमाएका नागरिकलाई सहज सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रसुवाले यस्तो व्यवस्था गरेको हो।प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नुवाकोटमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका प्रभावितसँग आवेदन सङ्कलन गरेर नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको छ। यसबाट प्रशासनिक कामका लागि सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित उत्तरगया गाउँपालिकाका बासिन्दाका नागरिकतालगायत महत्वपूर्ण कागजात नष्ट भएका थिए। कागजात अभावमा राहत, पुनःस्थापना तथा अन्य सरकारी सेवा लिन समस्या नहोस् भनेर अस्थायी बसोबासस्थलमै सेवा पुर्याउन लागिएको प्रशासनले जनाएको छ।प्रजिअ पाण्डेका अनुसार नुवाकोटको पिपलटार होल्डिङ सेन्टरमा रहेका उत्तरगया–१ का २०२ जना प्रभावितले नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन सङ्कलन गरी आइतबार रसुवाको सदरमुकाम धुन्चे ल्याइएको छ। आवेदनको अध्ययन र आवश्यक प्रमाणीकरणपछि तयार भएका प्रतिलिपि सम्बन्धित व्यक्तिलाई होल्डिङ सेन्टरमै पुगेर वितरण गरिनेछ।
जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना तथा उत्तरगया गाउँपालिकाको पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष माधव अर्यालले बताएका छन्। उनका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको छ भने प्रभावितलाई आवश्यक अन्य प्रशासनिक सेवा पनि क्रमशः उपलब्ध गराउने तयारी छ।