काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा क्यानडाले नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओपनर युवराज सम्राले शतकीय पारी खेलेपछि क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो। ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाका लागि सम्राले ११७ बलमा १०५ रन बनाए। त्यस्तै, आरोज जोनसनले ३६, हर्ष थाकरले ३४ र हम्जा तारिकले ३० रनको योगदान दिए।
एक समय ३ विकेटको क्षतिमा २१९ रन बनाएको क्यानडा त्यसपछि सम्हालिन सकेन र लगातार विकेट गुमाउँदै अलआउट भयो। नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ३९ रन खर्चिए। सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहित पौडेलले १ विकेट लिए।
लिग–२ को अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंक जोड्दै सातौँ स्थानमा रहेको छ। यस खेलमा नेपाल विजयी भए छैटौँ स्थान सुरक्षित गर्नेछ। नेपाल पराजित भए क्यानडा छैटौँ स्थानमा उक्लिनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने अवस्था आउनेछ।