काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विपद् प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सरकारी राहत कोषमा आर्थिक सहायता जुट्ने क्रम जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दैवी प्रकोप उद्धार तथा राहतसम्बन्धी कोषका विभिन्न बैंक खातामा जम्मा भएको रकम १८ अर्ब रुपैयाँ नाघेको छ।कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बिहान ९ बजेसम्म कोषमा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ बराबरको मौज्दात रहेको छ।उपलब्ध विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा गरी १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका खातामा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर रहेको जनाइएको छ।
विपद्का कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने प्रयास जारी रहेका बेला कोषमा जम्मा भएको रकमको विवरण सार्वजनिक गरिएको हो।