काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूलाई सम्भव भएसम्म नेपाली भाषामै आफ्ना धारणा र प्रश्न राख्न निर्देशन दिइएको छ।
समितिको जारी बैठकको सुरुमै सभापति बोधनारायण श्रेष्ठले नेपाली भाषाको प्रयोगलाई प्राथमिकता दिन सांसदहरूलाई आग्रह गरेका हुन्। आवश्यक परे केही उद्धरण वा विषयवस्तु अंग्रेजी भाषामा पनि प्रस्तुत गर्न सकिने उनको भनाइ छ।यसअघि बसेको समितिको बैठकमा नेकपाका नेता वर्षमान पुनले सांसदहरूले नेपाली भाषामा प्रश्न गर्नुपर्ने विषयमा सभापतिबाट स्पष्ट निर्देशन हुनुपर्ने माग गरेका थिए। त्यसपछि सभापति श्रेष्ठले बैठकमा नेपाली भाषाको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिएका हुन्।
यतिबेला संसदीय सुनुवाइ समितिमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ भइरहेको छ। सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिएको थियो।आज भने बाँकी देशका लागि सिफारिस गरिएका राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढिरहेको छ। समितिले प्रस्तावित राजदूतहरूको योग्यता, क्षमता तथा जिम्मेवारी निर्वाह गर्न सक्ने आधारबारे छलफल गर्दै सुनुवाइ गरिरहेको छ।