काठमाडौं।नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले विगतका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई समग्रमा भ्रष्टाचारीका रूपमा चित्रण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।
सबै पुराना नेता गलत थिए भन्ने धारणा बनाउनु उचित नहुने उनको भनाइ छ।सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै पाण्डेले यस्तो धारणा राखेका हुन्।२०४८ सालदेखि २०७९ सालसम्म लगातार सांसद बनेका पाण्डेले आफू कुनै पनि भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको दाबी गरे। उनले पुराना दलमा रहँदा खराब र नयाँ दलमा प्रवेश गरेपछि असल ठहर गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रसंग उल्लेख गर्दै पाण्डेले एउटै व्यक्तिलाई राजनीतिक दल परिवर्तन गरेकै आधारमा फरक दृष्टिले हेर्नु उचित नहुने बताए।उनले विगत ३५ वर्षमा देशमा कुनै विकास नभएको भन्ने धारणा पनि तथ्यसंगत नभएको दाबी गरे। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् जस्ता क्षेत्रमा भएका प्रगतिलाई पनि मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो।