काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन अघि बढाउँदै अनुसन्धान पूरा नहुँदासम्म सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिअनुसार सञ्चारमाध्यममा सार्वजनिक भएका महिलाको सम्मानमा आँच पुग्ने कार्य, अनुचित दबाब, धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई पार्टीले गम्भीर रूपमा लिएको छ। यी विषयमा उठेका प्रश्नको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो। रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुन दिइएको निर्देशन अनुसन्धान प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्नका लागि भएको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, पार्टीले सम्बन्धित सरकारी निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। रास्वपाले कानुनभन्दा माथि कोही पनि नरहेको स्पष्ट पार्दै आन्तरिक तथा सरकारी अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा प्रचलित कानुन र पार्टी विधानअनुसार थप निर्णय लिइने जनाएको छ। साथै, कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने पार्टीको भनाइ छ।
