काठमाडौँ । बडादसैँ नजिकिँदै गर्दा राजधानी काठमाडौँबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्न थालेको छ।
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका कारण उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू दसैँ मनाउन गाउँघर फर्किन थालेपछि मुख्य नाकाहरूमा यात्रुको चाप बढेको हो।काठमाडौँ उपत्यकाका विभिन्न नाकामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको भीड देखिन थालेको छ। परिवार र आफन्तसँग चाडपर्व मनाउन घर जाने क्रम बढेसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन्।सबैभन्दा धेरै यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन्। उक्त नाका हुँदै २७ हजार ६४९ जना बाहिरिँदा भक्तपुर नाकाबाट २० हजार ६१५ र फर्पिङ नाकाबाट पाँच हजार ५१० जना बाहिरिएका छन्। यस्तै, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३, तीनपिप्लेबाट ९७२ र थानकोटबाट ५६ जना बाहिरिएको प्रहरीले जनाएको छ।
यात्रुको चाप बढिरहेका बेला सडकको बिग्रँदो अवस्थाले यातायात व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार विभिन्न राष्ट्रिय राजमार्गमा देखिएको समस्याका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न नसक्दा यात्रु ओसारपसार प्रभावित भएको छ।उनका अनुसार अग्रिम टिकट बुकिङ सुरु भएको दिन असोज २३ गते धादिङको गलौँदीस्थित पृथ्वी राजमार्गको सडक भासिएर यातायात अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए। त्यसको असर अझै सवारीसाधनको व्यवस्थापनमा परेको व्यवसायीहरूको भनाइ छ।
महासङ्घले यात्रुहरूलाई आधिकारिक टिकट लिएर मात्र यात्रा गर्न, सरकारले तोकेको भाडादर पालना गर्न र यात्रामा निस्कनुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।दसैँमा परिवार र आफन्तसँग भेटघाट गर्ने परम्पराका कारण हरेक वर्ष राजधानीबाट बाहिरिनेको सङ्ख्या बढ्ने गर्छ। यस वर्ष पनि चाडपर्व नजिकिएसँगै उपत्यकाका मुख्य नाकामा यात्रुको चहलपहल तीव्र बनेको छ।