काठमाडौं।अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरनजंग थापाले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै कन्सुलर सेवामा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले नेपालको राष्ट्रिय हितको संरक्षण र कूटनीतिक क्षमता विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने बताएका छन्।सोमबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो धारणा राख्दै थापाले अमेरिकामा रहेका नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन आवश्यक कदम चाल्ने बताए। सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै आवश्यक परे सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने योजना रहेको उनले उल्लेख गरे। यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने उनको भनाइ छ।
अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदाय र त्यहाँको सञ्जाललाई नेपालको विकास, सांस्कृतिक सम्पदाको संरक्षण तथा राष्ट्रिय हित प्रवर्द्धनमा उपयोग गर्ने योजना पनि उनले सुनाए।थापाले सुरक्षा सहयोगका क्षेत्रमा अमेरिकासँगको सहकार्यलाई नेपालको आवश्यकता र प्राथमिकताअनुसार अघि बढाउनुपर्नेमा जोड दिए। प्रविधि तथा साइबर सुरक्षामा बढिरहेका चुनौती सामना गर्न आवश्यक प्रविधि हस्तान्तरण र सहकार्यका लागि पहल गर्ने उनको भनाइ छ।
‘नेपालको राष्ट्रिय हितभन्दा ठूलो अरू केही हुँदैन,’ भन्दै उनले सरकारी नीतिनिर्देशनअनुसार शान्ति स्थापना र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा अमेरिकी सहयोगलाई अझ प्रभावकारी बनाउन काम गर्ने बताए। व्यक्तिगत सम्बन्ध वा सम्पर्कले आफ्नो कूटनीतिक जिम्मेवारीमा असर नपार्ने दाबी पनि उनले गरे।अमेरिकामा अध्ययन तथा काम गर्ने क्रममा स्थापित सम्पर्कलाई दुई देशबीच कूटनीतिक संवाद विस्तार गर्न र उच्चस्तरीय भ्रमणका लागि अनुकूल वातावरण बनाउन प्रयोग गर्ने थापाको योजना छ। कूटनीतिलाई संवादमार्फत विश्वास निर्माण गर्ने प्रक्रिया बताउँदै उनले आफ्नो अनुभव र सम्बन्धको उपयोग गरी नेपाल–अमेरिका साझेदारीलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।