काठमाडौं ।नेपाल धितोपत्र बोर्डले कानुन सेवातर्फ सहायक निर्देशक पदमा कर्मचारी नियुक्त गर्न आवेदन खुलाएको छ।
बोर्डले स्थायी पदपूर्ति नहुँदासम्म कामकाज गर्ने गरी अधिकृत तृतीय श्रेणीको पदमा सेवा करारमार्फत कर्मचारी लिन लागेको हो।बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्।इच्छुक उम्मेदवारले बोर्डले तोकेको ढाँचामा दरखास्त फाराम भरी आवश्यक कागजातसहित कार्यालयमा बुझाउन सक्नेछन्। त्यसैगरी, आवश्यक कागजात स्क्यान गरी इमेलमार्फत पनि आवेदन पठाउन सकिने व्यवस्था गरिएको छ।
आवेदनका साथ शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवसम्बन्धी कागजात र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। अन्य सरकारी, गैरसरकारी वा संस्थामा कार्यरत व्यक्तिले सम्बन्धित निकायको स्वीकृतिपत्रसमेत बुझाउनुपर्ने बोर्डले जनाएको छ।उक्त पदमा आवेदन दिन मान्यताप्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र वाणिज्य कानुनलाई मूल विषयका रूपमा अध्ययन गरेको हुनुपर्नेछ।
उमेरका हकमा आवेदनको अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारका लागि भने अधिकतम उमेर सीमा ४० वर्ष तोकिएको छ।बोर्डका अनुसार आवेदन दस्तुर दुई हजार रुपैयाँ तोकिएको छ। उक्त रकम लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको बोर्डको खातामा जम्मा गरी भुक्तानीको प्रमाण इमेलमार्फत पठाउन सकिनेछ।इच्छुक तथा योग्य उम्मेदवारलाई निर्धारित समयभित्र आवश्यक कागजातसहित आवेदन दिन बोर्डले आग्रह गरेको छ।
