काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गतको रोमाञ्चक खेलमा सेभिल्ला र लेभान्टेले ३–३ गोलको बराबरी खेलेका छन्।
घरेलु मैदानमा जित नजिक पुगेको सेभिल्लाले इन्जुरी समयको अन्तिम चरणमा गोल खाएपछि अंक बाँड्न बाध्य भएको हो।खेलको १३औँ मिनेटमा रोबी उरेले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको नवौँ मिनेटमा फेलिक्स कोरियाले अर्को गोल थपेपछि घरेलु टोली २–० ले अघि बढेको थियो।तर, लेभान्टेले त्यसपछि खेलमा पुनरागमन गर्ने प्रयास गर्यो। खेलको ५७औँ मिनेटमा इभान रोमेरोले गोल गर्दै अन्तर घटाए। निर्धारित समय सकिएपछि थपिएको समयको दोस्रो मिनेटमा एड्रियन डे ला फुएन्टेले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो।
त्यसपछि आइसाक रोमेरोले इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गर्दै सेभिल्लालाई फेरि अग्रता दिलाए। तर, त्यसको केही समयपछि उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिए। एक खेलाडी कम भएपछि दबाबमा परेको सेभिल्लाविरुद्ध लेभान्टेका इफेन्याई एनदुक्वेले इन्जुरी समयको दसौँ मिनेटमा गोल गरे। उनको गोलसँगै लेभान्टे हारबाट जोगियो र खेल ३–३ मा टुंगियो।यस बराबरीपछि सेभिल्लाले आठ खेलबाट १४ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा रहेको छ। लेभान्टेले सात खेलबाट छ अंकसहित १७औँ स्थानमा आफ्नो स्थिति बनाएको छ।ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको भने आठ खेलबाट २४ अंक रहेको छ।