काठमाडौं ।बूढीगण्डकी नदीमा आएको भीषण बाढीपछि गोरखाको चुमनुब्री गाउँपालिका–६ का पाँच जना सम्पर्कविहीन भएका छन्।
उनीहरू सिरिङ्गे हिमालको फेदीमा रहेको भेडीगोठमा बस्दै आएका थिए।जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सम्पर्कविहीन हुनेमा चुन्तेतका ६५ वर्षीय सोनाम लामा, ५९ वर्षीया मोम्मो अजि लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पोमा दोर्जे लामा रहेका छन्।प्रहरीका अनुसार पहिरोका कारण उइनगुलुङ खोलाको पानी थुनिएर अस्थायी बाँध बनेको र पछि बाँध फुट्दा पानीको बहाव बढेर बूढीगण्डकीमा बाढी आएको प्रारम्भिक जानकारी छ।
सम्पर्कविहीन भएका पाँचै जनाको खोजीका लागि प्रहरी टोली चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङस्थित सिरिङ्गे हिमालको फेदी क्षेत्रमा पुगेको छ। उनीहरूको अवस्था पत्ता लगाउन खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।