काठमाडौं । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावरको विद्युत् प्रसारण लाइनमा क्षति पुर्याएपछि आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण अवरुद्ध भएको छ।
आज बिहान करिब ८ बजे आएको बाढीले नदी किनारमा रहेका प्रसारण लाइनका पोल र तार बगाएको हो। बाढीबाट जलविद्युत् आयोजनाको संरचनामा सामान्य क्षति पुगे पनि करिब पाँच किलोमिटर प्रसारण लाइन प्रभावित भएको आयोजनाले जनाएको छ।आयोजनाका प्रबन्ध निर्देशक कृष्ण घिमिरेका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत गरी एक सातादेखि १० दिनभित्र राष्ट्रिय प्रसारण लाइनमा पुनः जोड्ने तयारी भइरहेको छ। मर्मतसम्भारको काम सकेसम्म छिटो सम्पन्न गर्ने कम्पनीको योजना छ।
विशेषगरी सोतीदेखि आर्खेतसम्मको तल्लो क्षेत्र हुँदै बूढीगण्डकी नदीको किनारमा फैलिएको प्रसारण लाइनमा बाढीले बढी क्षति पुर्याएको बताइएको छ।बाढीका कारण निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको कामसमेत प्रभावित हुन सक्ने अनुमान गरिएको छ। दसैँ नजिकिँदै गर्दा आवश्यक जनशक्ति र निर्माण सामग्रीको व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने भए पनि मर्मत कार्यलाई तीव्रता दिने कम्पनीले जनाएको छ।कम्पनीले बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै लगानीकर्ता, सरोकारवाला र स्थानीय बासिन्दालाई धैर्यधारण गर्न आग्रह गरेको छ।