काठमाडौं ।गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढी पहिरोका कारण नदीको बहाव अवरुद्ध भएर बनेको अस्थायी बाँध फुटेपछि आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यद्यपि, बाढीको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले थप अध्ययन गरिरहेका छन्।नेपाली सेनाका अधिकारीहरूले गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको पहिरो प्रभावित क्षेत्र हेलिकप्टरबाट निरीक्षण गरेका थिए। निरीक्षणपछि प्राप्त विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जानकारी गराइएको हो।प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीका अनुसार पहिरो खसेर नदी थुनिएको र त्यसपछि अवरोध खुलेसँगै पानीको बहाव तीव्र भएर बाढी आएको हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको यकिन कारण पत्ता लगाउन ड्रोनसहितको टोली परिचालन गरिएको उनले बताएका छन्।
यसैबीच, जिल्ला प्रहरी कार्यालय गोरखाले सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको र त्यसको प्रभावले बूढीगण्डकीमा बाढी आएको हुन सक्ने जनाएको छ। प्रारम्भिक विवरणमा पनि पहिरोका कारण पानीको बहाव रोकिएर पछि एक्कासि खुलेपछि बाढी आएको देखिएको छ।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार बिहान करिब साढे ४ बजे पहिरो खसेको थियो। त्यसपछि नदीमा बनेको अवरोध भत्किँदा लेदो र गेग्रानसहित आकस्मिक बाढी आएको प्रारम्भिक विवरण छ।बाढीका कारण हालसम्म १० जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ। चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका नदी तटीय क्षेत्रमा रहेका ६ वटा पुलसमेत बाढीले बगाएको छ। घटनाको थप विवरण संकलन तथा बाढीको कारणबारे अनुसन्धान जारी छ।