काठमाडौं ।चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का संसदीय दलका उपनेता गणेश पराजुलीले बेइजिङस्थित नेपाली दूतावासको भ्रमण गरेका छन्।
द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन चीन पुगेका पराजुलीले दूतावासका कार्यवाहक राजदूत रोशन खनालसहितका कर्मचारीसँग भेटघाट गरेका हुन्। भेटका क्रममा समसामयिक विषयमा छलफल भएको दूतावासले जनाएको छ।छलफलमा चीनले आर्थिक विकास र प्रविधिको क्षेत्रमा हासिल गरेको प्रगतिबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा पराजुलीले धारणा राखेका थिए। साथै, नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन कूटनीतिक नियोगले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि उनले चर्चा गरेका थिए।
चिनियाँ संस्थाको आयोजनामा हुने कार्यक्रममा ग्लोबल साउथ र युरोपेली मुलुकका सांसदहरूको सहभागिता रहने बताइएको छ। उक्त कार्यक्रममा पराजुलीले नेपालमा हालै गएको भोटेकोशी बाढी तथा जलवायु परिवर्तनका असरबारे आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।भ्रमणका क्रममा विभिन्न देशका प्रतिनिधिसँग उच्चस्तरीय भेटघाटसमेत हुने जनाइएको छ।