काठमाडौं ।बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखा र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी क्षेत्र जोड्ने र आरुघाटको सोती तथा मान्बु जोड्ने पक्की पुलमा क्षति पुर्याएको छ। धार्चे गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको उनले जानकारी दिएका छन्।त्यसैगरी, माछिखोला–केरौँजा, चुमनुब्रीको ठाडो भर्याङ–जगत तथा सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुलहरू पनि बाढीले बगाएको विवरणमा उल्लेख छ।
बाढीका कारण चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ घर बगाएको बताइएको छ। जगत, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत बाढीले क्षति पुर्याएको छ।बाढीबाट प्रभावित क्षेत्रमा भएको क्षतिको थप विवरण संकलन भइरहेको छ। सम्पर्कविहीन भएकाहरूको अवस्था र उद्धारसम्बन्धी थप जानकारी आउन बाँकी छ।