काठमाडौं ।बूढीगण्डकी नदीमा आइतबार बिहान आएको ठूलो बाढीपछि गोरखाका प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ।
बाढीका कारण चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका नदी किनार आसपासका क्षेत्रमा क्षति पुगेको छ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रभावित क्षेत्रमा स्थलमार्ग र हवाईमार्गबाट सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा खोजीको काम अघि बढाइएको छ।प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीचको क्षेत्रमा हिमपहिरो गएपछि बूढीगण्डकी नदीको बहाव अवरुद्ध भएको थियो। सिरिङ्गे हिमालबाट आएको हिमपहिरोले उइनगुलुङ खोला र बूढीगण्डकी नदीमा पानी थुनिएर बनेको अवरोध खुलेपछि एक्कासि पानीको बहाव बढेको बताइएको छ।
लेदो र गेग्रानसहित आएको बाढीले दुईवटा पक्की पुल तथा केही घर बगाएको छ। बाढीले नदी तटीय क्षेत्रमा थप क्षति पुर्याएको विवरणसमेत प्राप्त भएको छ।सेनाका अनुसार पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट छ जनालाई हवाई माध्यमबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौँमा रहेको कम्पोजिट क्विक रेस्पोन्स टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।