काठमाडौं । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडको आयोजनामा ठूलो भौतिक क्षति पुर्याएको छ।
बाढी आउन लागेको सूचना पाएपछि सुरक्षित स्थानतर्फ भागेका १८ जना कर्मचारीले भने ज्यान जोगाउन सफल भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रारम्भिक विवरणमा आयोजनाका नौवटा ब्लक र छवटा सार्वजनिक भवन बाढीले बगाएको जानकारी प्राप्त भएको छ।आयोजनामा कार्यरत कर्मचारीहरूलाई स्थानीय बासिन्दाले बाढीको जोखिमबारे जानकारी दिएपछि उनीहरू सुरक्षित र अग्लो स्थानमा पुगेका थिए।
प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीका अनुसार ती कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी गरिएको छ।बाढी प्रभावित क्षेत्रमा मानवीय क्षति रोक्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको उनले बताएका छन्।यसअघि नेपाली सेनाले बूढीगण्डकी बाढीबाट जोखिममा परेको जगत क्षेत्रबाट छ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिसकेको छ। प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट खोजी र उद्धार कार्य जारी रहेको जनाइएको छ।